गण्डकी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न समग्र शिक्षण तथा मूल्याङ्कन प्रणालीको पुनःसरचना आवश्यक रहेको बताएकी छिन् ।
प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले विद्यालय शिक्षा ऐन निर्माणमा शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिले छलफललाई निरन्तरता दिएको बताइन् ।
त्रिभुवन विश्वविद्यालयलाई व्यवस्थित नगरेसम्म जनमानसमा विश्व विद्यालयप्रति आशा जगाउन नसकिने बताउँदै उनले शिक्षा ऐन, नीति र कानुन नभएमा राज्य सञ्चालन गर्न अप्ठ्यारो परिस्थित व्यहोर्नुपर्ने धारणा राखिन् ।
शिक्षा क्षेत्रका समग्र समस्या समाधान गर्न तत्कालीन र दीर्घकालीन प्राथमिकता निर्धारण गरी अघि बढ्ने बताउँदै मन्त्री भट्टराईले विद्यालय खाजा कार्यक्रमलाई स्थानीय उत्पादनसँग जोड्ने लक्ष्यका साथ विभिन्न मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिइन् ।
दोषीलाई दण्ड र निर्दोषलाई सफाइ पाउने प्रणाली व्यवस्थित गर्दै लोकतान्त्रिक राज्यको अवधारणा निर्माण गर्न मन्त्रालय अघि बढेको उनकाे भनाइ छ । उनले उच्च शिक्षाको पाठ्यक्रमलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
राज्य शिक्षासँग जोडिन अपरिहार्य भएको हुँदा शिक्षालाई नीतिले नेतृत्व गर्नुपर्नेमा जोड दिँदै उनले हालै आएको एसईई तथा कक्षा १२ को परीक्षाफल सन्तोषजनक नभएको भन्दै दिगो परीक्षा प्रणालीलाई परिमार्जन गर्नुपर्ने बताइन् ।
वर्तमान सरकार मुलुकमा सुशासन र समृद्धिसहित जनतामा विश्वास र आशा जगाउने लक्ष्यका साथ अघि बढेको उनकाे भनाइ छ ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts