मूल्यवृद्धिबारे अनुगमन गरी कारण पत्ता लगाएर मूल्यवृद्धि अन्त्य गर्नुपर्नेमा सांसदहरुको जोड

शाराम्स

देशमा भएको मूल्यवृद्धिबारे अनुगमन गरी कारण पत्ता लगाएर मूल्यवृद्धि अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनीहरुले मूल्यवृद्धिले सर्वसाधारण जनतालाई आफ्नो दैनिकी चलाउनसमेत समस्या भएकाले यसको दिर्घकालिन समधानका उपाय खोजिनुपर्ने बताए । छलफलमा कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पेट्रोल, डिजेल र एलपीजी ग्यास मुक्त बनाउनु पर्ने बताउनुभयो । उहाले आयातको सबैभन्दा ठूलो व्यापार घाटा पेट्रोलियम पदार्थ भएको यसलाई मुक्त बनाउनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो । नेपालमा इन्धन भण्डारण क्षमता धेरै नभएको भन्दै उहाले कच्चा तेल किने प्रशोधन गर्ने व्यवस्था मिलाउन योजना बनाउनुपर्ने बताउनुभयो ।

त्यस्तै कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले डिजेल र पेट्रोलमा एक रुपैयाँ कर लगाउनु उपयुक्त भए पनि अन्य कर थप गर्दा समस्या देखिएको बताउनुभयो । उहाले मूल्यबृद्धि नियन्त्रणका लागि सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै एमालेका सांसद गोकुल बास्कोटाले पेट्रोलियम पदार्थ र खाद्यान्नमा सबैभन्दा बढी डलर विदेशिने भएकाले दुई चार महिनामै श्रीलंकाको हालतमा पुग्ने चेतावनी दिनुभयो । पेट्रोलियम पदार्थसहितका वस्तुमा भएको मूल्यवृद्धिप्रति सरकार रमिते बनेको उहाको टिप्प्णी छ ।

त्यसअघि सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थतन्त्रका प्रमुख परिसूचकप्रति सरकारले यथेष्ट ध्यान पु¥याउन नसक्दा जनताको जनजीविकासँग जोडिएका खाद्यान्नलगायत अन्य उपभोग्य वस्तुको व्यापक मूल्यवृद्धि भएको बताउनुभयो । सरकारले मुद्रास्फितिलाई रोक्नाको साटो दिनानुदिन खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थको मूल्य स्वचालितरुपमा १५ दिनमा एकपटक समायोजन गर्नसक्ने प्रावधानविपरीत मूल्य बढाइएको उहाले बताउनुभयो ।

प्रस्तावमा सांसदहरु यज्ञराज सुनुवार, गणेशप्रसाद पहाडी र राजेन्द्रप्रसाद लिङ्देनले समर्थन गर्नुभएको छ । यही जेठ ९ गते सो प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!