विज्ञापन हो जस्तो समेत नलाग्ने किसिमले पाउडर दुध उत्पादन गर्ने ठूला कम्पनी कपटी र भ्रामक सूचनाहरू लिएर सामाजिक सञ्जालमार्फत नवजात शिशुका आमाबाबुलाई प्रभावित पारिरहेका छन् र आफ्नो व्यापार बढाइरहेका छन् भन्ने विश्व स्वास्थ्य संगठनको अनुसन्धानले देखिएको छ। यी ठूला फर्मुला दुध कम्पनीहरूले आमाबाबु, विशेष गरी आमाहरूलाई सोशल मिडियालगायत सबै अनलाइन प्लेटफर्महरूमा लुकाएर गलत प्रचार गरिरहेका छन्। यस सम्बन्धमा, विश्व स्वास्थ्य संगठनले यी ठूला कम्पनीहरूले आफ्नो जीवनको सबैभन्दा संवेदनशील क्षणहरूमा गर्भवती महिला र आमाहरूसम्म प्रत्यक्ष पहुँच प्राप्त गर्न गलत तरिकाले सोशल मिडिया र डिजिटल प्लेटफर्महरू प्रयोग गरिरहेको चेतावनी दिएको छ।ती कम्पनीले यो मार्केटिङका लागि ठूलो रकम पनि खर्च गर्दै आएका छन्।
डब्लुएचओका अनुसार यी ठूला कम्पनीहरूले आफ्ना सामग्री सार्वजनिक रूपमा यस कपटपूर्ण तरिकाले प्रसारित गरिरहेका छन् जुन प्राय: विज्ञापनको रूपमा चिन्न सकिँदैन। उल्लेखनीय कुरा के छ भने फर्मुला मिल्कको यो ब्यापार पाँच लाख करोडभन्दा बढीको छ।यस सन्दर्भमा, विश्व स्वास्थ्य संगठनले “स्कोप एण्ड इम्प्याक्ट अफ डिजिटल मार्केटिंग स्ट्रेटेजीज फर प्रमोटिंग ब्रैस्ट-मिल्क सब्स्टिट्यूटस” (आमाको दुध विकल्पहरू प्रवर्द्धन गर्न डिजिटल मार्केटिङ रणनीतिहरूको दायरा र प्रभाव) शीर्षकको नयाँ अनुसन्धान प्रतिवेदन पनि जारी गरेको छ। यस प्रतिवेदनमा, विश्व स्वास्थ्य संगठन ले यी कम्पनीहरूले नयाँ अभिभावक र उनीहरूका परिवारहरूलाई खुवाउने निर्णय र अभ्यासहरूलाई प्रभाव पार्न मद्दत गर्न डिजाइन गरेका डिजिटल मार्केटिङ प्रविधिहरूको रूपरेखा प्रस्तुत गर्दछ।यी विज्ञापनहरूको उद्देश्य मानिसहरूलाई यसरी प्रभाव पार्नु हो कि उनीहरूले आफ्ना बच्चाहरूलाई स्तनपान गराउनुको सट्टा ती कम्पनीको प्याकेज गरिएको दूध वा अन्य सामग्रीहरू प्रयोग गर्न मनोवैज्ञानिक रूपमा बाध्य हुनेछन्। तपाईँ हामीले विभिन्न एप्स, भर्चुअल सपोर्ट ग्रुप, ‘बेबी-क्लब’, सशुल्क सामाजिक सञ्जाल प्रभावकारी, प्रवर्द्धन तथा प्रतियोगिताहरू र सल्लाह फोरम वा सेवाहरूमा राखेका व्यक्तिगत जानकारी तथा सूचनालाई यी कम्पनीहरूले सङ्कलन वा खरिद गर्ने गरेको थाहा भएको छ। त्यसपछि यो जानकारी वा सूचनाका आधारमा व्यक्तिगत “विज्ञापन” अभियानहरू मार्फत गर्भवती महिला र आमाहरूलाई प्याकेज गरिएको दूध वा अन्य सामग्रीहरू किन्न लगाउने सूचना पठाउँछन्।यस अनुसन्धान प्रतिवेदनले अचम्मलाग्दो तथ्याङ्क बाहिर ल्याएको छ। यस अध्ययनमा शोधकर्ताहरूले सन् २०२१ को जनवरी र जुन बीचमा प्रकाशित बेबी फूडको बारेमा ४० लाख पोस्टहरूको विश्लेषण गरेका थिए। ती पोस्ट 247 करोड मानिसहरूमा पुग्यो। जसलाई १.२ करोड भन्दा बढी मानिसहरुले लाइक, शेयर वा कमेन्ट गरेका छन्।यी फर्मुला मिल्क कम्पनीहरूले आफ्नो सामाजिक सञ्जाल खातामा दैनिक औसत ९० पटक सामग्री पोस्ट गर्ने गरेका छन्, जुन संख्या २२ करोड ९० लाख प्रयोगकर्तासम्म पुगेको छ। यदि हेर्ने हो भने, यो गैर-व्यावसायिक पोष्टहरू मार्फत स्तनपान सम्बन्धी जानकारी पुग्नेहरूको भन्दा तीन गुणा बढी हो।