निर्वाचन खर्चका बिषयमा जथाभावी नबोल्न नेता शशांक कोइरालालाई निर्वाचन आयोगको आनुरोद

सारांश :

निर्वाचन आयोगले निर्वाचन खर्चका बिषयमा जथाभावी नबोल्न कांग्रेस नेता शशांक कोइरालालाई सचेत गराएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा २१ लाख ७५ हजार रुपैयाँ खर्च भएको विवरण दिएको भए पनि ६ करोड खर्च भएको भनेर दिएको अभिव्यक्ति विरुद्ध सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै आयोगले सम्वद्ध दल र व्यक्तिलाई सचेत गराउने निर्णय गरेको हो । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले आचारसंहिता कार्यान्वयन गर्न सचेत गराएको जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले निर्वाचन आचारसंहितकाबिपरितको काम नगर्न माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपालाइ पनि सचेत गराइएको बताए ।

आयोगले स्थानीय तह सदस्य निर्वाचनका क्रममा पोष्टर, भित्ते लेखन, तुल, ब्यानरलाई प्रयोग नगर्न आग्रह गरेको छ । त्यस्तै आयोगले काठमाडौं महानगरको प्रमुख पदका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएको पाइएकाले सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको अर्यालले बताए । यसैगरी स्थापितबारे जारी भएको प्रेस विज्ञप्ति निर्वाचन आचारसंहिता प्रतिकूल रहेकाले सो सम्बन्धमा स्पष्ट पार्न महिला पुनःस्थापना केन्द्र (ओरेक) लाई आयोगले स्पष्टीकरण सोधेको र प्रेस विज्ञप्तिलाई सार्वजनिक माध्यमबाट यथाशिघ्र हटाउन पनि निर्देशन दिएको उनले बताए ।

आयोगले स्थानीय तह निर्वाचनमा मनोनयनपत्र दर्ता गराएकामध्ये विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएको जानकारी गराएको छ । निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरिएको समेत आयोगले जनाएको छ । निर्वाचनको मिति नजिकिएका समयमा इन्टरनेट सेवा प्रदायक सङ्घ, नेपालले आगामी सातादेखि इन्टरनेट सेवा बन्द हुन सक्ने भनी दिएको चेतावनीप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!