२४ वर्षीय भारतीय फोटोग्राफर ७ महिना देखि झापाको जेलमा, आरोप पुष्टि गराउन बरामद क्यामेरा नै गायब भएको छ। भारतको पश्चिम बङ्गाल राज्यमा पर्ने कोलकाता नजिकैको हावरा स्थायी ठेगाना भएका २४ वर्षीय दुर्लभ रोय चौधरी विगत ७ महिनादेखि झापास्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका छन् । मुद्रा सम्बन्धी कसुरमा चौधरी लाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर थुनामा पठाएको ७ महिनासम्म पनि उनको मुद्दा साक्षी बुझ्ने मै केन्द्रित छ । नेशनल जिओग्राफी, प्राक्टिकल फोटोग्राफी, वर्ल्ड स्ट्रिट फोटोबुक, टाइम्स अफ इण्डिया लगायतका विभिन्न मिडियाहरूमा फोटोग्राफीको काम गर्दै आइरहेका चौधरी यतिबेला नेपालको जेलमा नक्कली अमेरिकी डलर बोकेको अभियोगमा बन्दी जीवन बिताइरहेका छन् । उनले राखेका साक्षीसमेत नेपाल नआइदिँदा उनको मुद्दा अगाडि बढ्न सकेको छैन । कोलकाता नजिकैको हाउडामा भाडाको घरमा बस्ने उनकी आमा कहिले नेपाल त कहिले भारत धाइरहेकी छिन् ।
बुवाको मृत्यु भएपछि पढाई छाडेर व्यावसायिक फोटोग्राफीमा लागेका दुर्लभ जेल परेपछि अहिले उनकी आमालाई आफ्नो छोरा निर्दोष रहेको पुष्टि गर्न दबाब थपिएको छ, यद्यपि अदालतमा मुद्दाको प्रक्रिया अगाडि नबढ्दा उनी पनि तनावमा छिन् । खासमा गत वर्षको मङ्सिर २ गते साँझ साँढे ४ बजे झापास्थित भद्रपुर विमानस्थलबाट काठमाडौँ आउने क्रममा डलरजस्तो देखिने २२६ थान फोटोकपीसहित दुर्लभलाई पक्राउ गरिएको थियो । प्रहरी प्रतिवेदन अनुसार भद्रपुरबाट काठमाडौँ जाने क्रममा शरीर तथा ब्याग खानतलासी गर्ने क्रममा चौधरीको साथबाट एक सय दरका २२६ थान अमेरिकी नोटहरू फेला परेको थियो । उक्त नोटसहित चौधरीलाई जिल्ला प्रहरी कार्यालय झापा पठाइएको थियो र प्रहरी प्रतिवेदनका आधारमा चौधरीको मुद्दा मङ्सिर २४ गते झापा जिल्ला अदालतमा दर्ता गरिएको थियो ।
सोही मुद्दामा झापा जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले ‘यी प्रतिवादी कसुरदार रहेको भनी विश्वास गर्ने आधार विद्यमान रहेकोले’ भन्दै दुर्लभलाई पछि ठहरे बमोजिम हुने गरी दुर्लभलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए । र, सोही आदेशका आधारमा दुर्लभ हालसम्म पनि थुनामै रहेका छन् । ‘मनी इज नथिङ’ नामक डकुमेन्ट्रीका लागि बनाएका थिए नक्कली डलर ! दुर्लभले जिल्ला न्यायाधीशसमक्ष दिएको बयानमा आफूसँग बरामद भएको भनिएको नक्कली अमेरिकी डलर कारोबार गर्नका लागि नभएर डकुमेन्ट्रीका लागि उडाउने प्रयोजनका लागि ल्याएको दाबी गरेका छन् । दुर्लभले आफूसँग बरामद भएको भनिएको डलर आआफ्नो शरीर खानतलासी गर्ने क्रममा भेटिएको नभई आफैँले एअरपोर्टका सुरक्षागार्डलाई देखाएर ह्याण्ड क्यारीमा लैजान मिल्छ कि लगेजमा भनी सोधेपछि सुरक्षागार्डले प्रहरी बोलाएको बताएका छन् । प्रहरीलाई आफूले उक्त डलर उडाएर भिडियो बनाउने प्रयोजनका लागि मात्रै ल्याएको बताए पनि प्रहरीले गलत बयान लेखेर हस्ताक्षर गराएको बताएका छन् ।
आफूले नेपाली भाषा नबुझ्ने र प्रहरीले आफूलाई अब छोडिदिने भनी हस्ताक्षर गराएर कारोबार गर्ने उद्देश्यले ल्याएको भनी गलत बयानमा हस्ताक्षर गराएको दुर्लभले जिकिर गरेका छन् । प्रहरीसँगको बयानमा यस्तो लेखाइएको छ ! ‘म पक्राउ पर्नुभन्दा अन्दाजी एक महिना अगाडीतिर ईन्टरनेट मार्फत अमेरिका देशको १०० रुपैयाँको नोट (डलर) डाउनलोड गरी मेरो घर नजिकै भारत कोलकाता बजारमा स्थित रहेको नाम थाहा नभएको छापाखानाबाट फोटो पेपरमा पैले डाउनलोड गरेको उक्तONE HUNDRED DOLLARS, THE UNITED STATES OF AMERICA, LE00000099D उल्लेख भएको १०० दरको डलर भारतीय रु २०० (दई सय) रुपियाँमा जम्मा थान, २२६ (दुई सय छब्बिस) खोटा मुद्रा छाप्न लगाई सो मुद्राहरू साथमा राखेको अवस्थामा नेपालको काठमाडौँ, पाखरा लगायतका ठाउँहरू घुमफिर गर्न जाँदा उक्त मैले बनाएको नक्कली खोटा मुद्राहरू साथमा बोकी लैजाने सोचले मैले भारत आफ्नो देशबाट नै इन्टरनेट मार्फत 18 NOVEMBER 2021 अर्थात मिति २०७८ मङ्सिर २ गते दिनको अन्दाजी १७ः२० बजेको FLIGHT NO. U4-958 को भद्रपुर बाट काठमाडौँ सम्मको बुद्ध एयरको जहाजमा काठमाडौँ जानका लागि सोही दिनको दिउँसोतिर नेपालको काकँडभिट्टा नाका बाटो हुदै झापा भद्रपुरको विमानस्थल एयरपोर्टमा आइपुगेपछि उक्त एयरपोर्टमा सुरक्षार्थ खटिएका प्रहरीहरूले हामी यात्रुहरूको सर–सामानहरू तथा जिउ शरीर चेकजाँच गर्ने क्रममा मैले साथमा बोकेको ब्याग भित्र लुकाई छिपाई राखेको अवस्थामा थान २२६ (दुई सय छब्बिस) अमेरिकन खोटा मुद्राहरू प्रहरीले फेला पारेकोले सो खोटा मुद्राहरू सहित पक्राउ गरी दाखिला गराएको हो
। त्यसरी मैले साथमा बोकेको अमेरिकन खोटा मुद्राहरू हो भन्ने जानीजानी निकासी पैठारी गरी सद्दे सरह चलन गर्ने नियतले साथमा बोकी हिँड्नु मेरो गल्ती भयो ।’ दुर्लभसँग भएको क्यामेरा प्रहरीले बरामदी मुचुल्कामै राखेन जतिबेला विमानस्थलको सुरक्षामा खटिएका प्रहरीले दुर्लभलाई पक्राउ गरिएको बताएको छ, त्यतिबेला दुर्लभसँग Nikon D810 मोडलको एउटा क्यामेरा, Tamron 7200 मोडलको एक लेन्स, Nikon 50mm को लेन्स, Samyang 14mm लेन्स र एउटा ट्राइपोड समेत थियो । ती सामानहरू प्रयोग गरेर नै दुर्लभले ट्राभल ब्लग र डकुमेन्ट्री तथा फोटो खिच्ने काम गर्थे । तर प्रहरीले बरामदी मुचुल्का बनाउँदा ती सबै सामान बरामदी मुचुल्कामा नै राखेन । किनभने क्यामेरा, ट्राइपोड आदि सबै राख्दा उनी ट्राभल ब्लग बनाउने उद्देश्यले नै नेपाल आएको पुष्टि हुन सक्थ्यो र उनी छुट्न सक्थे । तर प्रहरीले अभियोगपत्र तयार पार्दा, बरामदी मुचुल्का कहीँ पनि ती सामान रहेको उल्लेख गरेको छैन । यद्यपि ती सामानहरू दुर्लभ जेल गएपछि प्रहरीले जेल प्रशासनलाई बुझाएको थियो र उनकी आमा तृप्ती रोय चौधरीले केही दिन अघिमात्रै ती सामानहरू बुझेर लगेकी छिन् । यसै सम्बन्धमा तत्कालीन समयमा दुर्लभलाई पक्राउ गरी जिल्ला प्रहरीको जिम्मा लगाउने जुनियर प्रहरी अधिकृतलाई सम्पर्क राख्दा ‘जिल्लाले किन क्यामेराहरू बरामदीमा नराखेको हो थाहा भएन’ भन्ने जवाफ दिए ।
Source: Times of Pradesh