नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका अन्यको चर्चा गर्न आवश्यक नरहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौंमा जिफन्टले आयोजना गरेको कार्यक्रममा ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएको भन्दै उनीहरुको चर्चा गर्न आवश्यक नै नरहेको बताए ।
उनले चर्चा गर्न आवश्यक नरहेको व्यक्तिलाई नभई एमालेका प्रतिनिधिहरुलाई बिजयी गराउन आह्वान गरे । यसअघि पनि सफा काठमाडौंको अवधारणा र बिकासको काम एमाले नै सुरु गरेको भन्दै अब महानगरपालिकालाई समृद्ध बनाउने काम पनि एमालेले नै गर्ने बताए । ओलीले श्रमिकको पक्षमा बोल्ने एमाले पार्टी भएकाले कुनै समस्या भए स्पष्ट भन्न आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले पार्टीको स्थानीय तहको घोषणापत्रका साथ जनतामाझ जान पनि कार्यकर्तालाई निर्देशन दिएका छन् ।