प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले ६८ वर्षमै बृद्धभत्ता दिने निर्णयको विरोध जनाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९-८० को बजेटमाथिको छलफलका क्रममा पाण्डेले वृद्धा भता नबढाएर उमेर घटाएकोमा आपति जनाएका हुन् । उनले बृद्धभत्ता दिने कार्य एमालेले नै गरेको भन्दै यसलाई बढाएर ५ हजार पुरयाउनु पर्ने धारणा राखेका छन् । पाण्डेले सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा उत्पादन बढाउने कुरा गरे पनि कृषि क्षेत्रको समस्या समाधानमा ध्यान नदिएको आरोप लगाएका छन् । उनले किसानले मल नपाउने अवस्था रहेकाले उक्त समस्याको समाधान नगरी कृषि उत्पादन बढाउन नसकिने बताए । त्यस्तै उहाले निर्वाचनको वर्ष भएकाले यो वर्ष बजेट कार्यान्वयन जम्मा चार महिनामा गर्न अप्ठेरो हुने बताएका छन् ।
त्यस्तै छलफलमा भाग लिदै नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले राष्ट्र र जनतालाई केन्द्रमा राखेर ल्याइएकाले बजेट सन्तुलित रहेको बताउनुभयो । उनले बजेटले गरिबी निवारणमा भूमिका निर्वाह गर्ने बताएका छन् । उनले सार्वजनिक, निजी साझेदारको मोडललाई थप परिभाषित गर्नुपर्नेमा जोड दिँदै उत्पादनका साथै त्यसको बजारीकरणमा सार्वजनिक, निजी, सहकारी क्षेत्रको साझेदारी र सहकार्य हुनुपर्ने बताएका छन् ।
कांग्रेस सांसद पदमनारायण चौधरीले मुलुक सङ्कटग्रस्त अवस्थामा रहेकाले अहिले बजेटले कृषिलाई प्राथमिकता दिएको बताएका छन् । सामाजिक सुरक्षाका विषयवस्तु बजेटमा उल्लेख गरिएकाले बजेट राम्रो रहेको उनको भनाई छ ।
त्यस्तै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले हुलाकी राजमार्गमा थोरै मात्रै बजेट छुट्टयाइएको भन्दै यसका पुनर्विचार गर्नुपर्ने बताएका छन् ।