भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित जङ्गलमा लागेको आगो चार दिनपछि नियन्त्रणमा आएको छ ।
सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सूर्यविनायक‐७ गुण्डुका वडाध्यक्ष रविन्द्र सापकोटाका अनुसार ललितपुरको पाइलटबाबा आश्रम नजिकबाट जङ्गलमा फैलिएको आगो सूर्यविनायक–८ सिपाडोलसम्म फैलिएको थियो । चार दिनको प्रयासपछि आगो नियन्त्रणमा आएको उनले जानकारी दिए ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुरको जुद्ध बारुण यन्त्र, काठमाडौँ र ललितपुरबाट मगाएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीयवासी, जनप्रतिनिधिलगायतको प्रयासका कारण आगो नियन्त्रणमा आएको बताए ।
उनले भने– “आज बिहानसम्म कहिँ कतै धुँवा देखिएको छैन, तर पनि सचेत हुनुपर्छ ।” आगलागीबाट भएको क्षतिको विवरण जिल्ला वन कार्यालयले सङ्कलन सुरु गरेको प्रजिअ श्रेष्ठले जानकारी दिए ।
सूर्यविनायक नगरपालिकाका प्रवक्ता सापकोटाले सूर्यविनायक जङ्गलमा लागेको आगोका कारण जङ्गली जनावर मरेको बताए । धुँवाले गाउँ टोलमा तुवालो लागेजस्तै भएको उनले बताए । आगो फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै दमकल तयारी अवस्थामा राखिएको उनले बताए ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts