काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताएका छन् ।
सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिए । सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास रहेको उनको भनाइ छ । उनले उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका कार्यक्रमअन्तर्गत कृषिजन्य उत्पादन एवं सार्वजनिक सेवाका क्षेत्रहरूमा नवप्रवर्तनलाई प्रोत्साहित गर्ने नीति अगाडि सार्ने तयारी गरिएको जानकारी दिए । उनले युवालाई लक्षित गरी अगाडि बढाइएको ‘स्टार्टअप कार्यक्रम’ लाई एकीकृत गरी प्रभावकारी कार्यान्वयन गर्न सरकार गम्भीररूपले लागिरहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताएका छन् । उनले सूचनाप्रविधिमार्फत घरमै बसेर अधिकांश सरकारी सेवा लिने सक्ने गरि काम सुरु भसकेको बताए । शर्माले सूचना प्रविधि आर्थिक समृद्धिको आधारको रुपमा बिकसित हुदै गएको धारणा राखे ।
कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाइ सम्मान गरिएको थियो । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ बिहीबार सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइएको हो ।
सम्बन्धित समाचारहरु:
कर्णाली पुलमा भिषण आगलागी
आज साउने पन्ध्र पर्व मनाइँदै
बिरगंजबाट काठमाडौं आउँदै गरेको बस खैरहनीमा दुर्घटना, ३१ जना घाइते
महानगरपालिकाले २०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने
संसदीय सुनुवाई विशेष समिति द्वारा २० राजदूतबिरुद्ध उजुरी आह्वान
डाटा मेटिएपछि लोक सेवा आयोगबाट पुनः दरखास्त आह्वान, शुल्क तिर्न नपर्ने
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts