सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड, के छ धरहराको इतिहास ?

सारांश :

काठमाडौँ । आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ । शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल्क रुपमा खुला गरिएपछि चढ्न आउनेको भीड लागेको हो ।  


विसं २०७२ सालको भूकम्पले भत्किएको धरहरा पुनःनिर्माण गरी नौ वर्षपछि खुला हुँदा पहिलो दिनमा सर्वसाधारणको भीड लागेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । गत साता मन्त्रिपरिषद्को बैठकले संविधान दिवसको अवसर पारेर आजदेखि धरहरा अस्थायीरूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईका प्रमुख कोषनाथ अधिकारीले प्रत्येक दिन छ सयका लागि निःशुल्क धरहरा चढ्ने व्यवस्था गरिए पनि पहिलो दिनको मध्यान्हमै दुई हजार पाँच सयले धरहरा चढिसकेको जानकारी दिए । “अहिले एकैपटकमा करिब एक हजारले अवलोकन गरिरहनुभएको छ,” उनले भने, “लाइन लामो छ, दैनिक जम्मा छ सयका लागि खुलाउने भनेका थियौँ । भीड बाक्लो भयो । तसर्थ तोकिएभन्दा बढीले धरहरा चढिसकेका छन् ।”

उनले तत्कालका लागि धरहरा चढ्न निःशुल्क व्यवस्था मिलाइएको र यो अस्थायी व्यवस्था मात्रै रहेको बताउनुभयो । शुल्कको विषय टुङ्गो लाग्न बाँकी रहेको र छिट्टै टुङ्गो लाग्ने उनको भनाइ छ । सहरी विकास मन्त्रालयले धरहरा निर्माण गर्न जिआइटिसी रमन कन्स्ट्रक्सन जोइन्ट भेन्चर कम्पनीलाई ठेक्का दिएको थियो । विसं २०७२ फागुन ४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा “मेरो धरहरा, मै बनाउँछु” भन्ने अभियान सुरु गरिएको थियो । विसं २०७५ असोज १४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट धरहरा पुनःनिर्माण सुरु गरिएको थियो । विसं २०७८ वैशाख ११ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए ।

धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ‘धरहरा डट कम डट जिओभी डट एनपी’ नामक वेबसाइट सञ्चालन गरेको छ । इकाइका अनुसार वेबसाइटमार्फत पनि बुकिङ गर्न सकिनेछ ।

धरहराको इतिहास
विसं १८८२ मा महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाद्वारा ६१ दशमलव ८८ मिटर अग्लो ११ तल्ले धरहरा निर्माण गरिएको थियो । विसं १९१३ मा धरहरामा चट्याङ्ग परी भत्कियो । विसं १९२३ मा धरहराको जिर्णोद्वार गरिएको थियो । विसं १९९० माघ २ मा महाभूकम्पमा परी धरहरा पुनःभत्किएको थियो । विसं १९९२ मा तत्कालिन राणा प्रधानमन्त्री जुद्धशम्सेर राणाद्वारा पुनःनिर्माण गरिएपछि धरहरा ११ तल्लाबाट नौ तल्लामा सीमित भएको थियो ।

फेरि विसं २०७२ वैशाख १२ को विनासकारी भूकम्पबाट धरहरा पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । हाल पुनःनिर्माण गरी धरहरा सञ्चालनमा ल्याइएको हो । रासस

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!