संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु

सारांश :

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रारम्भ गरेको छ । समितिले विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतमध्ये आज चार जनाको सुनुवाइ गर्ने कार्यतालिका बनाएको छ ।

समितिले आज चीनका लागि प्रस्तावित प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, गणतन्त्र भारतका लागि डा शङ्करप्रसाद शर्मासँग छलफल गर्न लागेको हो ।

समितिले  शुक्रबार प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमा उल्लेख गरिएका विषयवस्तुबारे उजुरीकर्तासँग पुस्टयाँइ माग गर्दै छलफल गरेको थियो । समितिले सुरुवातमा चीनका लागि प्रस्तावित प्राडा ओलीबाट  छलफल सुरु गरेको छ । समितिको बैठकमा कार्ययोजना पेस गर्दै उनले नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने र जनस्तरमा थप विस्तार गर्ने बताए । सुनुवाइ समितिमा उनले आफ्नो कार्ययोजना पेस गरिरहेका छन् ।

गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो । सरकारले इजरायलका लागि प्रा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताललाई सिफारिस गरेको छ ।
     
त्यस्तै, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासङ्घका लागि जङ्गबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाम्फे, स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी सिफारिस भएका छन् ।

प्रस्तावित राजदूतविरुद्ध नौ वटा उजुरी परेकाेमा समितिले छ जना उजुरीकर्तालाई बैठकमा उपस्थित भई आफ्ना भनाइ प्रस्तुत गर्न अनुमति दिएको थियो । उजुरीकर्तामध्ये अधिकांशले संविधानको मर्म र भावनाअनुरुप समावेशी सिद्धान्तलाई आत्मसात नगरिएको उल्लेख गर्दै सिफारिस सच्याउन माग गरेका थिए ।

प्रस्तावित व्यक्तिका सम्बन्धमा उजुरीकर्तालाई समितिसमक्ष उपस्थित गराई उजुरीको विषय र त्यसको औचित्यता स्पष्ट पार्न लगाउने तथा प्रस्तावित व्यक्तिलाई बोलाएर छलफल गर्ने लगायतका काम गरी सुनुवाइ प्रक्रियाभित्र पर्छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!