काठमाडौँ । सूचना–प्रविधिको बदलिँदो स्थितिमा न्यायालय र पत्रकारिता विगतमा झैं जनताको लोकतान्त्रिक अधिकारको रक्षार्थ एक ठाउँमा उभिनुपर्नेमा जोड दिइएको छ ।सर्वाेच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा आज आयोजित ‘अदालती रिपोर्टिङ र सञ्चारमाध्यम’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले पत्रकारले न्यायलयप्रति नागरिकका प्रश्न राख्न तथा न्यायालयले विधि र विवेकसम्मरुपमा न्याय दिन सकेमा समाजको विकासमा मद्दत पुग्ने बताएका हुन् ।
कार्यक्रममा सर्वाेच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतले कलमको निबमा भएको अजेय शक्तिलाई पत्रकारले दुरुपयोग गर्न नहुने र न्यायालयले विकृति, विसङ्गतियुक्तरुपमा आफ्ना गतिविधि गर्नुपर्ने बताए ।
“मिडियाले देखेको सत्य कुरा निष्कलङ्करुपमा लेख्नुपर्छ, कसैलाई खुइल्याउने नियतले समाचार लेखेमा वा अदालतको हुर्मत लिने काम भएमा उदार लोकतन्त्रको मून्य र मान्यता बचाउन सकिँदैन, त्यस्तो अवस्थामा प्रेस स्वतन्त्रताको पनि रक्षा हुन सक्दैन”, न्यायाधीश राउतले भने, “प्रेस र न्यायालयबीच सहकार्य बढाउन हामी तयार छौँ, त्यो सहकार्य नियोजित स्वार्थमा आधारित नहोस् भन्ने हाम्रो चाहना हो ।”
सर्वाेच्च अदालतका न्यायाधीश हरि फुयाँलले संविधानमा सूचनाको हक र प्रेस स्वतन्त्रताको हकको व्यवस्था गरिएकाले त्यसको सही कार्यान्वयनका लागि न्यायालय तथा पत्रकारिताबीचको दोहोरो संंवाद आवश्यक रहेको बताए । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अदालतको सारथिका रुपमा प्रेस रहेको जनाउँदै प्रेसमाथि कुनै पक्षले हस्तक्षेप गरेमा बचाउन सक्ने थलो नै अदालत भएको स्पष्ट गरे ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष एवं मञ्चका पूर्वअध्यक्ष शिव गाउँलेले नागरिकका पक्षमा अदालतमाथि प्रश्न गरिरहन सक्ने गरी सत्य र तथ्यपूर्वक पत्रकारिता गर्नुपर्नेमा जोड दिए । नेपाल बार एशोसिएशनका महासचिव अञ्जिता खनालले अदालती प्रयोगमा रहेका भाषा र नजिरहरुको अध्ययन गरेर पत्रकारिता गर्दा त्यो सार्थक हुने सुझाव दिइन् ।
सम्बन्धित समाचारहरु:
नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि होः प्रधानमन्त्री दाहाल
सङ्घीय संसद्का कर्मचारीको माग सम्बोधन गर्न छलफल सुरु
उद्योगमन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट
परराष्ट्रमन्त्रीलाई भारतीय, पाकिस्तानी समकक्षीद्वारा बधाई
कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति गर्न सकिन्छ : प्रधानमन्त्...
९ महिनापछि बस्दै, एमाले केन्द्रीय कमिटी बैठक
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
