एजेन्सी । युक्रेनी सेनाले राजधानी किएभमा भएको रुसी मिसाइल आक्रमणलाई विफल बनाएको बताएको छ । किएभमा आइतबार बिहानैदेखि हवाई आक्रमणको साइरन बजेको थियो ।
“प्रत्येक आक्रमणको बीचमा छ दिनको स्पष्ट अन्तरालमा अगस्टमै राजधानीमा यो तेस्रो ब्यालिस्टिक मिसाइल आक्रमण हो”, किएभ सहर सैन्य प्रशासनले बिहानैको बमबारीपछि टेलिग्राममा पोस्ट गरेको छ ।
मिसाइल आक्रमणका साथ ड्रोनहरू किएभतर्फ गएको देखिएको थियो । “दुश्मनका सबै ड्रोन सहरभन्दा धेरै टाढा नष्ट गरिएको छ”, पोस्टमा भनिएको छ । आक्रमणबाट कुनै क्षति वा हताहतको सूचना प्राप्त नभएको उल्लेख गर्दै प्रशासनले भनेको छ, “सम्भवतः केएन–२३ प्रकारको उत्तर कोरियाली ब्यालेस्टिक मिसाइलहरूको प्रयोग गरिएको थियो ।”
संयुक्त राज्य अमेरिका र सोलले उत्तर कोरियामाथि युक्रेन युद्धका लागि रुसलाई गोला–बारुद र मिसाइलहरू उपलब्ध गराएको आरोप लगाएका छन् । किएभले बारम्बार पश्चिमका आफ्ना सहयोगीहरूसँग थप वायु–रक्षा प्रणाली उपलब्ध गराउन आह्वान गरेको छ ।
गत साता किएभ नजिकै रातभर भएको रुसी मिसाइल आक्रमणमा ३५ वर्षीय एक व्यक्ति र उनका चार वर्षीय छोराको मृत्यु भएको थियो । आक्रमणमा अन्य तीन जना गम्भीर घाइते भएका थिए । रुसी भूभागमा युक्रेनको हालैको अग्रतालाई मस्कोले ‘कडा प्रतिक्रिया’ दिने वाचा गरेपछि चिन्ता अझ बढेको छ ।
युक्रेनमाथि रुसी आक्रमणको साढे दुई वर्षपछि किएभका सैनिकहरूले गत साता कुर्स्क क्षेत्रमा ठूलो जवाफी आक्रमण गर्दा एक लाख २० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा कुनै पनि विदेशी सेनाको सबैभन्दा ठूलो आक्रमणमा रुसको एक हजार एक सय वर्ग किलोमिटरभन्दा बढी क्षेत्र कब्जा गरेको युक्रेनको दाबी छ ।
सम्बन्धित समाचारहरु:
साइबर दुब्यबहार नियन्त्रणका लागि नयाँ नियम लागु गर्दै चीन
चिनियाँ राष्ट्रपति सीद्वारा मध्यपूर्व शान्ति सम्मेलनका लागि आग्रह
राष्ट्रपति बाइडेनद्वारा युक्रेनी ऊर्जा केन्द्रमा भएको रूसी हमलाको निन्दा
अमेरिकी राष्ट्रपति वाइडेनसँग प्रधानमन्त्री ओली
वेस्ट बैंकमा इजरायली आक्रमणको क्रममा अल-जजिरा रिपोर्टरको मिर्त्यु
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि फेरि गोली प्रहार
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
