चितवन । यहाँको भरतपुर अस्पतालमा अर्थाेपेडिक विभागमा आज दुई सय ५० जनाले मात्रै बहिरङ्ग सेवामा टिकट काट्न पाउने भएका छन् । सोभन्दा बढी सेवाग्राहीले टिकट नपाउने अवस्था रहेको अस्पताल प्रशसानले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले आज बिहान मातहतका कर्मचारीलाई आज दुई सय ५० भन्दा बढीको टिकट नकाट्न निर्देशन दिए । उनले भने, “हिजो टिकट काटेका एक सयभन्दा बढी बिरामी उपचार नलिई फर्किनु प¥यो, सेवा नलिई बिरामीलाई फर्काउनुभन्दा क्षमताअनुसार मात्रै टिकट उपलब्ध गराउनु उपयुक्त हुन्छ ।”
स्वास्थ्य बीमाको नियमअनुसार टिकट काटेको दिनमा मात्रै उक्त टिकटबाट सेवा लिन सकिन्छ । अर्काे दिन आउँदा नयाँ टिकट लिनुपर्ने हुन्छ । आईतबार बिहानभरी लाइन बसेर टिकट काटेका एक सयभन्दा बढी बिरामी फिर्ता भएका अस्पतालका अर्थाेपेडिक सर्जनसमेत रहेका डा पौडेलले बताए । उनिहरुले आज परीक्षण गर्न पुनःटिकट काट्नुपर्ने हुन्छ ।
सरकारी भरतपुर अस्पतालमा यो समस्या अर्थाेपेडिकसँगै मेडिकल, सर्जिकललगायत विभागमा छन् । मेडिसिन विभागमा मात्रै दैनिक पाँच सयभन्दा बढी बिरामी आउने बताउँदै डा.पौडेलले कतिपयले टिकट काट्नै नपाउने अवस्था रहेको उल्लेख गरे । स्वास्थ्य बीमामार्फत सेवा लिनेको घुइँचो, सीमित जनशक्तिलगायत कारण लामो लाइन बसेर काटेको टिकटबाट कतिपयले उपचार नलिई फर्किनुपरेको उनले स्वीकारे ।
डा पौडेलका अनुसार पत्थरीको शल्यक्रियाका लागि एक वर्ष दुई महिनापछिको पालो दिनुपर्ने अवस्था छ । शल्यक्रिया गर्दा शरीरभित्र राखिएको ‘स्टिल’ निकाल्न एक वर्ष पालो कुर्नु परिरहेको भन्दै उनले आकस्मिक बाहेकका सबै शल्यक्रियाका लागि लामो समय पालो कुर्नुको विकल्प नभएको बताए ।
“आइतबार अस्पतालमा बहिरङ्ग सेवा लिन आएका दुई हजार छ सय ५४ बिरामीमध्ये एक हजार सात सय ४५ जना स्वास्थ्य बीमामार्फत् सेवा लिने बिरामी थिए । यो सङ्ख्या कुनै दिन तीन हजार नाघ्ने गरेको छ”, पौडेलले भने ।
अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बिरामीले टिकट नपाएको गुनासो आउन थालेपछि बहिरङ्गको समय बढाउने गरी विकास समितिले निर्णय गरेको बताए । अहिले अस्पतालमा बिहान ९ः३० बजेदेखि ३ बजेसम्म बहिरङ्ग सेवा सञ्चालन हुँदै आएकामा मङ्गलबारदेखि बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सेवा सञ्चालन गरिने उनले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा दुई सिफ्ट बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देश गरेको छ । सोहीअनुसार चिकित्सकलाई अप्ठ्यारो नपर्ने गरी व्यवस्थापन गरिएको अध्यक्ष पौडेलले बताए । उनका अनुसार पहिलो सिफट्मा ९ बजेदेखि अपह्रान्न २ सम्म र दोस्रोमा ११ बजेदेखि अपह्रान्न ४ बजेसम्म सिफ्ट मिलाइएको छ ।
पहिलो सिफट्मा ८० प्रतिशत र दोस्रोमा २० प्रतिशत चिकित्सक आउने जनाउँदै अध्यक्ष पौडेलले अपुग चिकित्सकका लागि नयाँ नियुक्तिको मागसहित सूचना प्रकाशित गरिएको जानकारी दिए । उनले भने, “अस्पतालमा आउने बिरामी उपचार नपाएर फर्किनु हुँदैन । अब पुरानो तरिकाले नयाँ परिणाम पाउन सकिँदैन । बहिरङ्गको समय बढाएर सेवा दिने तयारी भइसकेको छ ।”
हाल अस्पतालमा अस्पताल विकास समितिका तर्फबाट ९० र सरकारी÷स्थायी ४५ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । मेडिकल अधिकृत ५९, छात्रवृत्ति÷करारका चिकित्सक ३६ र चार सय २५ जना नर्स रहेका अस्पताल प्रशासनले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
साउन १७ गते रातो मच्छिन्द्रनाथकाे रथयात्रा हुने
जलवायु परिवर्तनका कारण जङ्गलहरुमा आगलागी बढ्दै
प्रधानमन्त्री प्रचण्डद्धारा औद्योगिक क्रान्तिमा पछि परेका देशका चुनौती सम्बोधन ग...
नारायणगढ–मुग्लिन सडककाे पच्चीस ठाउँमा पहिराेको जोखिम
घोडाघोडी नगरपालिकामा नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य सेवामा सहज
अर्थतन्त्रमा कुनै पनि संकट आएको छैन - अर्थमन्त्री जनार्दन शर्मा
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
