लुम्बिनी । राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन पुगेका छन् । उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे । राष्ट्रपति पौडेललाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ । प्रथम महिला सविता पौडेलको समेत उपस्थिति रहेको छ ।
जात्रामा सहभागी हुन रक्षामन्त्री मानवीर राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि पाल्पा पुगेका छन् । तानसेनस्थित रणउजिरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गरेको छ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट धुमधामका साथ विजयोत्सवस्वरुप रणउजिरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने चलन छ ।
विजयोत्सव एवं भगवती रथजात्रा राष्ट्रपति पौडेलले अवलोकन गर्ने कार्यक्रम रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । उनका अनुसार भगवतीको रथ निकालिने दिन आज नै अमननारायणको समेत रथ निकालिने भएको छ । यस वर्ष भगवती र अमननारायणको रथ निकाल्ने तिथि एकैदिन परेको छ ।
भगवतीको रथ निकाल्नु अघि तानसेनको नारायणथान मन्दिरबाट अमननारायणको रथ निकालेर उक्त रथले भगवतीको परिक्रमापछि मात्र भगवतीको रथ निकालिने परम्परा रहेको छ । भगवतीको रथयात्रा निकाल्नुअघि राष्ट्रपति पौडेलले रणउजिरेश्वरी भगवतीको मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको प्रजिअ काफ्लेले जानकारी दिए ।
तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राका रुपमा परिचित छ । कर्णेल उजीरसिंह थापाले १८७६ सालमा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राका रुपमा सञ्चालन गरिँदै आएको छ ।
सम्बन्धित समाचारहरु:
सहकारीको रकम ठगीबारे छानबिन गर्न कांग्रेसको माग
नेपाल मजदुर किसान पार्टीद्वारा घोषणा पत्र सार्वजनिक
आज चार वटा संसदीय समितिको बैठक बस्दै
बालसुधार गृहलाई व्यवस्थित गर्न आवश्यक कानून संशोधन गर्न सरकारलाई सुझाव
प्रधानमन्त्री ओलीले भनेः संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हो
चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
