म्याग्दी । पोखरा जानका लागि मङ्गलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित ट्याक्सी काउन्टरमा पुगेकी मालिका–४ फूलबारीकी कृपा शर्मालाई एक ट्याक्सी चालकले चार हजार भाडा मागे । रघुगङ्गा–२ भगवतीकी सोनी थापा भण्डारीले गत आइतबार पोखरा जाँदा ट्याक्सी चालकले छ हजार भाडा मागेको गुनासो गरे ।
“काउन्टरमा पालो कुरेर बस्ने ट्याक्सीले तोकिएभन्दा बढी भाडा नदिए जान मान्दैनन”, शर्माले भन्नुभयो, “काउन्टरमा ट्याक्सी नराख्ने र यात्रुलाई बाध्य बनाएर बढी भाडा तिर्न लगाउँदा हामीलाई मर्का परेको छ ।” बेनी–पोखरा सडकमा सञ्चालन हुने ट्याक्सीका चालकले चाडपर्वका अवसरमा आफूखुसी भाडा तोक्ने गरेको अन्य यात्रुहरुले पनि गुनासो गर्ने गरेका छन् ।
सरकारले बेनी–पोखरा दूरीका लागि ट्याक्सीका लागि प्रतियात्रु आठ सय ५० का दरले भाडादर निर्धारण गरेको छ । चार जना क्षमताको ट्याक्सी रिजर्भ गर्दा अधिकतम तीन हजार चार सय भाडा तिर्नुपर्छ । तर ट्याक्सी चालकले भने रिजर्भमा गर्दा चार हजारदेखि छ हजार र रिजर्भ नहुँदा प्रतियात्रु एक हजार दुई सय ५० देखि दुई हजार भाडा लिने गरेको बेनीका कृष्ण खत्रीले गुनासो गरे । दसैँ तिहारको समयमा यात्रुको चाप र सवारी साधनको अभावको मौका छोपेर बेनी–पोखरा सडकमा जिप र ट्याक्सीले बढी भाडा असुल गरेको उहाँले दाबी गरे ।
कूल ८३ किलोमिटर दुरीको बेनी–पोखरा सडकमा सेवा दिने दुई सयभन्दा बढी ट्याक्सी छन् । उपचारका लागि अस्पताल, सरकारी कार्यालय, व्यक्तिगत र व्यवसायिक कामले पोखरा जान आउनका लागि म्याग्दीबासीले ट्याक्सी प्रयोग गर्छन् । गण्डकी प्रदेशमा कास्कीपछि म्याग्दीमा धेरै ट्याक्सी चल्छन् । मुस्ताङ र म्याग्दीका विभिन्न पर्यटकीय स्थल घुम्न आउने र फर्कने यात्रुहरुको चाप पनि बढेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजकुमार केसीले कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरेर बढी भाडा असुल गर्ने, यात्रुलाई दुःख दिने र सवारी साधन नपाएर अलपत्र परेका सर्वसाधारणलाई सहयोग गर्दै आएको बताए । तोकिएको भन्दा बढी भाडा असुल गर्ने सवारी साधनलाई कारबाही पनि भइरहेको केसीले बताए । तोकिएभन्दा बढी भाडा असुल गर्ने सवारी साधनलाई रु पाँच सयदेखि एक हजार पाँच सयसम्म जरिवाना तिराउने व्यवस्था रहेको उनको भनाइ छ ।
बेनी–पोखरा सडकमा ट्याक्सी सेवा दिँदै आएको बेनी यातायात प्रालिका सञ्चालक भोजबहादुर थापा (कुमार)ले तोकिएभन्दा बढी भाडा नलिन सचेत बनाएको र त्यस्तो पाइए कारबाहीका लागि प्रहरीलाई सघाउने प्रतिबद्धता जनाए । गण्डकी प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समितिले चाडपर्वको समयमा बजार अनुगमन, यातायात भाडादरमा हुने ठगी र कालोबजारी नियन्त्रणका लागि सांसद गणेश गुरुङको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।
उपसमितिका सदस्य रहेका म्याग्दीबाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले चाडपर्वको समयमा सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु चढाउँदा दुर्घटनाको जोखिमका साथै तोकिएको भन्दा बढी भाडा असुल हुँदा यात्रुहरु मर्कामा परेको पाइएको बताए । यातायात व्यावसायी, प्रशासन र प्रहरीलाई गुनासोबारेमा जानकारी गराएर कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको उनले बताए । रासस
सम्बन्धित समाचारहरु:
आचारसंहिता उलंघन गर्नेसँग धमाधम स्पष्टीकरण माग्दै निर्वाचन आयोग
निर्वाचनका लागि हालसम्म १ करोड १९ लाख मतपत्र छापियो
पहिरो खस्दा कर्णाली राजमार्ग पाँच ठाउँमा अवरुद्ध
कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक छ : उपप्रधानमन्त्री सिंह
स्थानीय तह निर्वाचनको मतपत्र छाप्ने काम सम्पन्न
उत्साहपूर्वक ढंगले स्थानीय तह सदस्य निर्वाचन २०७९ दर्ता
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
