ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो । पूजाअर्चनाका लागि मन्दिरका दक्षिण र उत्तरतर्फ दर्शनार्थीका लागि लाइनको व्यवस्था गरिएको छ । भक्तजनको लाइन व्यवस्थापनका लागि नेपाल स्काउट, ललितपुर महानगर प्रहरी परिचालित छन् ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
यसदिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेषगरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।
सम्बन्धित समाचारहरु:
तेल बोक्ने ट्याङ्करले ठक्कर दिदा मोटरसाइकलमा सवार दुईको मृत्यु
बाँकेका विभिन्न अस्पतालमा रगतको अभाव
‘नेपाल प्रहरी मोबाइल एप’ अपराध अनुसन्धानमा उपयोगी बन्दै
मौसममा सुधार आएसँगै ताप्लेजुङकाे सुकेटार विमानस्थलमा पुनः उडान सुरु
मानसिक स्वास्थय सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै
आजको मौसम : कतै वर्षा, कतै हिमपात
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
