दमौली । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा पाठेघर फाल्ने शल्यक्रिया सेवा सुरु भएको छ । अस्पतालले आइतबारदेखि पहिलोपटक उक्त सेवा सुरु गरेको हो ।
व्यास नगरपालिका निवासी एक महिलाको पाठेघरको शल्यक्रिया गरिएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । अस्पतालका प्रसूति विशेषज्ञ डा कुमार विष्टको समूहले ती महिलाको पाठेघर फाल्ने शल्यक्रिया गरेका हुन् ।
अस्पतालमा यो सेवा सुरु भएसँगै दमौली तथा आसपासका भेगका महिलालाई सहज हुने बरालको भनाइ छ । उनले भने, “यसअघि यस सेवाका लागि पोखरा, चितवन वा अन्यत्रै जानुपथ्र्यो, अब यहीँ यो सेवा नियमित रुपमा सञ्चालन हुनेछ ।”
पन्ध्र शय्यामा स्वीकृत अस्पतालले हाल ५० शय्याबाट सेवा दिइरहेको छ । बढ्दो बिरामीको चापसँगै अस्पतालको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता रहेको बरालले बताए। विसं २०३४ मा स्वास्थ्यचौकी र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति भएको सो अस्पताल विसं २०५९ मा अस्पतालमा स्तरोन्नति भएको थियो ।
अस्पतालले दमौली मात्र नभई छिमेकी जिल्लाका बासिन्दालाई सेवा दिइरहेको छ । तीव्र सहरीकरण र बढ्दो जनसङ्ख्यासँगै अस्पतालले उक्त शय्यामा सेवा दिने अवस्था छैन । अस्पतालको स्तरोन्नतिका लागि पटक–पटक प्रयास भए पनि त्यसले मूर्त रुप लिन नसकेको बताइन्छ ।
अस्पताल विस्तारका लागि सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गर्ने निर्णय भएको थियो । सो निर्णय कार्यान्वयन नहुँदा विस्तार कार्य रोकिएको छ ।
अस्पतालमा फोहर पानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्स–रे, निःशुल्क औषधि कक्ष लगायतका सेवा विस्तार भइसकेको छ ।
साथै शव राख्नका लागि दुई तह भएका दुई मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित समाचारहरु:
नेकपा एकीकृत समाजवादीपार्टीका झण्डै ३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भइसके-...
दलहरुबीच भएको सहमतिले नयाँ इतिहास रच्ने अध्यक्ष नेपालको विश्वास
धादिङको जंगलमा भएको आगलागीको अझै रोकिएन
लुम्बिनीका विनाविभागीय मन्त्रीहरुको जिम्मेवारी तोकियो
अफगानिस्तानको उत्तरी क्षेत्रमा भएको विस्फोटमा १० जनाको मृत्यु ,४० जना घाइते
निर्वाचन आयोगको पत्रकार सम्मेलन LIVE
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts
